हामि "दलित " कि " शिल्पि"? कर्ण बि.क.
दलित शब्द मन नपराउनेहरूले सट्टामा शिल्पी शब्द प्रयोग गर्न थालेका छन् । यो दलित मुक्ति आन्दोलनभाँड्ने षड्यन्त्र मात्रै हो । यो दुई कारणले गलत छ । पहिलो– यस प्रसंगमा भारतको एक घटना याद आउँछ । भारत स्वतन्त्र भएपश्चात् अम्बेडकरलाई निस्तेज पार्न अर्का दलित नेता तयार पारियो– बाबु जगजीवन राम । डा. अम्बेडकरले हिन्दूधर्म परित्याग गरी बौद्धधर्म अंगालेका थिए । उनको गान्धी, पं.जवाहरलाल नेहरू आदिसँग गम्भीर र बौद्धिक बहस हुने गथ्र्यो । त्यसैले जगजीवन रामलाई अम्बेडकरलाई टक्कर दिन दलित नेता बनाइयो । उनी चमार थिए । प्रसंग हो– चमार जातिले हिन्दूहरूको (कथित) पुजनीय भगवान् रामको नामबाट थर राख्दा त विभेद नहोला भन्ठानेर राम थर राखे । हिन्दूहरू र विशेषगरी रामराज्यका पक्षधर गान्धीका पूज्य पात्र रामको नामबाट थर राखेपछि त पूर्वचमारलाई जातीय विभेद र छुवाछूत नहुनु पर्ने हो ! तर स्थिति त्यस्तो भएन, बरु सबै सवर्णले बुझे कि राम थर लेख्नेहरू चमार हुन् । हिन्दूका पूज्य देवता ‘राम’ लाई समेत विभेद हुन छाडेन । पछि जगजीवनकी छोरी मीरा कुमारी भारतको संसद् लोकसभाकी सभामुखसमेत भइन् । उनी आफैँले घोषणा गरिन्– ‘बाबा साहेब, भीमराव अम्बेडकरको देनका कारण आज म विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको संसद्को सभामुखजस्तो गरिमामय पदमा पुग्न सफल भएँ ।’ यस प्रसंगबाट प्रस्ट हुन्छ– दलित शब्दको सट्टा शिल्पी त के राम, इन्द्र, ब्रह्मा, विष्णु, कृष्ण जेसुकै राखे पनि विभेद अन्त्य हुनेवाला छैन । नेपालमै पनि चमार जातिले राम थर लेख्ने गरेका छन् । तर हरिजन पनि लेख्ने र भन्ने चलन छ ।
दास्रो– जसरी दलित शब्दले जात व्यवस्थाका कारण बहिष्करणमा पारिएका, छुवाछूत र विभेदबाट प्रताडित समुदाय भनेर एकमुस्ट रूपमा बुझाउँछ त्यसरी शिल्पी शब्दले बुझाउँदैन, छुवाछूतबाट पीडित सबै जातिको एकता गराउँदैन । दलितभित्र पर्ने जातिका पेसा माटो खन्ने, चौकीदारी, नाचगान र मनोरञ्जन तथा नाली सफा गर्ने इत्यादि छन् । उनीहरूका पेसा शिल्पकारितासँग जोडिँदैन भने शिल्पकार त गैरदलित समुदायमा पनि छन् । यसकारण दलित समुदाय एक भएर अधिकार प्राप्तिका निम्ति लड्नुपर्ने समयमा फुटाउने खेलको पछि लाग्नु हँुदैन, यस्ता कुतर्कको भ्रममा पर्नु हुँदैन ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home